क्यानडाबासी सम्पुर्ण खेलप्रेमी र शुभचिन्तक साथीहरु,

बाग्लुङ सेवा समाज क्यानडाको ईतिहास जति पुरानो छ, क्यानडाका आम आप्रबासी नेपाली डायस्पोरामा भलिबल खेलको अभ्यास र प्रतिस्प्रधा त्यतिकै लामो र गतिशिल छ । संस्थाको स्थापना नै भलिबल खेल संग जोडिएकोले हामी यस खेललाई आपसि भाईचारा, सामुहिक हित, गतिशिलता, अनुशासन र शारिरीक तन्दुरुस्तीका रुपमा आत्मसात गरेका छौं । संस्था स्थापना पछि हामीहरु दर्जनौ खेल प्रतियोगितामा सहभागी भएका छौं।  कतिपय प्रतिस्प्रधामा बिजयी बनेका छौ भने कतिपयमा उपबिजेता। जे जस्तो परिस्थिति सहेर भएपनि बाग्लुङ सेवा समाज यहाँ हुने धेरै प्रतियोगिताहरुमा सहभागी भएको छ र भविष्यमा पनि हुदै जानेछ। यसका साथै हाम्रो संस्था  आयोजक बनेर भलिबल प्रतियोगिता सफलता पुर्वक सम्पन्न गरेको इतिहाँस हामी सामु छ । यो हामी सबैको लागि गर्बको बिषय हो। 

हिमालय रकि स्पोर्ट्स कल्ब एडमन्टनको आयोजना र एनआरएन क्यानडाको सह-आयोजनामा भर्खरै एडमन्टन, अल्बर्टामा सम्पन्न क्यानडाव्यापि भ्यालेनटाईन कप भलिबल प्रतियोगितमा हाम्रो  टिम सहभागी भै  मिश्रित अनुभुती लिएर फर्केको छ। सर्बप्रथम, संस्थाको तर्फदेखी खेलमा सहभागी सम्पूर्ण साथीहरुलाई हामी हार्दिक धन्यबाद ब्यक्त गर्दछौ।  साथै खेल प्रतियोगितामा सहभागीताको लागी निमन्त्रणा गर्नु भएकोमा आयोजक समितिलाई धन्यबाद दिन चाहान्छौ भने बिजेता लालीगुराँस स्पोर्ट्स कल्ब मिसिसागा र उपबिजेता क्यालगरीको  टिमलाई हार्दिक बधाई दिन चाहान्छौं ।

खेलमा जीत र हार भन्ने कुरा एक सिक्काका दुईवटा पाटा हुन। सबै सहभागी टिमको लक्ष्य प्रतियोगिता  जित्ने भएतापनि जित एउटा टिमको मात्र हुन्छ । तर खेललाई मर्यादापुर्बक अनुशासित रुपमा सम्पन्न गर्न खेलका सर्वमान्य नियम बनेका हुन्छन जसमा आयोजक र सहभागी खेलाडीहरु बाँधिएर खेललाई मर्यादित र अनुशासित तवरले सम्पन्न गर्नुपर्ने हुन्छ। 

खेल प्रतिस्प्रधात्मक  अनुशासित र मर्यादित हुनु पर्छ भन्ने स्थापित मान्यता भएता पनि, बेलाबेलामा आयोजना हुने यस्ताखाले प्रतियोगितामा आयोजकलाई नै प्रभावमा पार्नेगरि  केहि स्वार्थी तत्वहरुले खेलको गरिमा र महत्व घटाएका छन। हालै एडमन्टनमा सम्पन्न प्रतियोगितामा बाग्लुङ सेवा समाज क्यानडाको टीमबाट सहभागी खेलाडीहरुले केहि तितो अनुभब लिएर फर्कनु पर्यो। एउटा खेलाडी ऊ कुन टिमबाट खेल्न चाहान्छ भन्ने स्वतन्त्रताको पनि ख्याल नगरि खेलाडीहरु मैदानमा ओर्लिसकेपछी  खेलको विचबाट खेलाडीलाई तानेर बाहिर निकालि खेल्नबाट समेत रोक्ने प्रयास भयो । गैर-खेलाडीहरुले नयाँ आगन्तुक खेलाडीको हुर्मत लिने समेत काम भयो । हाम्रो संस्थाको प्रतिनिधित्व गरेका खेलाडीहरुको मनोबल गिराउने उद्धेश्यले गरिएको  यो घटना खेदजनक छ । यस्ताखाले गतिविधिहरुले  नेपाली समुदायभित्र हुर्कदै गरेको खेलको प्रेम र भावना, खेलाडीको मर्यादा र हामीहरु बिचको भाईचार सम्बन्ध आउदा दिनहरुमा कस्तो होला ? हाम्रा पनि कमि कमजोरी भए  होलान, तर यो घटनाले हामीलाई निकै स्तब्ध बनाएको छ । खेललाई मर्यादित र अनुशासित बनाउने आयोजकको मात्र दायित्व होईन, सहभागी सबैको उत्तिकै भुमिका हुनुपर्छ र सबै एउटै नियमको डोरी बाँधिनु पर्छ भन्ने हाम्रो ठहर हो । 

भलिबल प्रतिको हाम्रो प्रेम र योगदान कति छ भन्ने कुरा ग्रेटर टोरोन्टोमा बसेर भलिबल खेल खेल्ने अधिकांस  खेलाडी साथीहरुलाई थाहा छ । टिम र खेलाडीको मनोबल घटाउने यि र यस्ता प्रतिनिधि घटनाले हामीलाई किञ्चित होतोत्साहित गर्दैनन। तरपनि यस्ता खाले प्रबृतिको बिकास हुदैगर्दा यसले हामीहरु बिचको आपसी समझदारी, भाईचार सम्बन्ध र आत्मियतामा आँच नआओस भन्ने कुरामा हामी सचेत हुनु जरुरि छ।

आउदा दिनहरुमा हामी सबै  खेलका सर्बमान्य नियमहरुमा पारदर्शी हुने कुरामा सचेत हुनु पर्छ भने आयोजक कसैको प्रभावमा पर्नु हुदैन। नियम सबैको लागी एउटै हुनु पर्छ। खेलाडी बिषेशलाई हेरेर नियम बन्नु हुदैन र टिम खेल स्थलमा पुगे पछि नयाँ नियम लागु गर्नु हुदैन । व्यक्ति बिषेशलाई भनेर यदि नियमहरु बन्छन भने यो खेलको नियम र भावना संग मिल्दैन । खेल, एउटा खेलाडीको लागी सम्मान समेत पाउने ठाउँ हो तसर्थ यो वा त्यो बहानामा कसैको आत्मसम्मान ठेस पुराउनु राम्रो हुदैन । यस कुरामा हामी सबैको ध्यान जान जरुरी छ । 

धन्यबाद  ।

बाग्लुङ सेवा समाज क्यानडा